कक्षा ८ नेपाली पाठ १०: हजुरआमाको जन्मोत्सव
शब्दभण्डार
१. दिइएका शब्द र अर्थबिच जोडा मिलाउनुहोस् :
| शब्द |
अर्थ |
| स्मरणीय |
सम्झना गर्न लायक |
| आमाजू |
पतिकी दिदी |
| निर्माता |
निर्माण गर्नेवाला |
| उत्सव |
कुनै विशेष अवसरमा खुसीयाली बनाउने काम |
| साइनु |
नातागोता |
| साढुभाइ |
सालीको पति |
| सरम |
लाज |
| फ्रेम |
तस्बिर, ऐना आदिमा रहने चौतर्फी बार |
२. दिइएका अर्थ बुझाउने शब्द 'हजुरआमाको जन्मोत्सव' मनोवादबाट खोजेर लेख्नुहोस् :
(क) कुनै खुसीयालीका सन्दर्भमा दिइने भेट : उपहार
(ख) हातले समाई टेकेर हिँडिने साधन : लट्ठी
(ग) राम्ररी चिनाउने काम : परिचय
(घ) आफूलाई प्रभावित पार्ने आन्तरिक इन्द्रिय : हृदय वा चित्त
(ङ) भ्रम पैदा हुने स्थिति : द्विविधा
३. दिइएका रातो रङ लागेका शब्दका ठाउँमा उस्तै अर्थ आउने शब्द राखी अनुच्छेद पुनर्लेखन गर्नुहोस् :
मान्छे आफैँ वातावरण प्रदूषणको कारण हो । हामी घरका फोहोर सडकमा फाल्छौं । बाहिरबाट हेर्दा मात्र शिष्ट देखिन चाहन्छौं
। हाम्रो कारणले सन्तानले कष्ट झेल्ने अवस्था सिर्जना गर्नुहुँदैन ।
४. दिइएका शब्दका उल्टो अर्थ दिने शब्द पाठबाट पहिचान गरी ती शब्दलाई वाक्यमा प्रयोग गर्नुहोस् :
झगडा : सल्लाह - काम गर्दा हामीले झगडा होइन सल्लाह गर्नुपर्छ ।
घृणा : वात्सल्य - आमाको न्यायो वात्सल्य पाएर हामी हुर्केका हौं ।
आस : निरास - निरास बन्ने बानीले सफलता पाइँदैन ।
परिचित : अपरिचित - कसैले पनि अपरिचित व्यक्तिको विश्वास गरिहाल्नु हुँदैन ।
स्पष्ट : द्विविधा - पढ्दा द्विविधामा परेका विषयवस्तु शिक्षकलाई सोध्ने
गर्नुपर्छ ।
अभागी : भाग्यमानी - पढाइ र सत्कर्मले हामीलाई भाग्यमानी बनाउँछ ।
अशान्त : शान्त - शान्त वातावरण सबैलाई मन पर्छ ।
पराई : आफन्त - हामीले सबै आफन्तसँग सुमधुर सम्बन्ध बनाउनुपर्छ ।
बोध तथा अभिव्यक्ति
२. 'हजुरआमाको जन्मोत्सव' मनोवाद तोकिएको समयमा पालैपालो सस्वरवाचन गर्नुहोस् ।
(Note: This is a reading activity and cannot be demonstrated in text format.)
३. 'हजुरआमाको जन्मोत्सव' मनोवाद पढी दिइएका प्रश्नको मौखिक उत्तर दिनुहोस् :
(क) विनोदकी हजुरआमा कति वर्षकी हुनुभएछ ?
विनोदकी हजुरआमा ८४ वर्षकी हुनुभएछ ।
(ख) फुपू फुपाजु कहिले घरमा आउनुभएको थियो ?
फुपू फुपाजु आमाको मुख हेर्ने दिन घरमा आउनुभएको थियो ।
(ग) हजुरआमाले पैसा कहाँ राख्नुहुन्थ्यो ?
हजुरआमाले पैसा पुरानो थैलीमा राख्नुहुन्थ्यो ।
(घ) विनोदका घरमा के कार्यक्रम हुँदै छ ?
विनोदका घरमा हजुरआमाको चौरासी पूजा र जन्मोत्सव कार्यक्रम हुँदै छ ।
(ङ) परिवारमा सबैभन्दा बढी उमेरका व्यक्तिको जन्मोत्सव मनाएको सम्झना नभएको प्रसङ्ग मनोवादको कुन अनुच्छेदमा छ ?
परिवारमा सबैभन्दा बढी उमेरका व्यक्तिको जन्मोत्सव मनाएको सम्झना नभएको प्रसङ्ग मनोवादको तेस्रो अनुच्छेदमा छ ।
४. 'हजुरआमाको जन्मोत्सव' मनोवादको तेस्रो अनुच्छेद शिक्षकबाट सुनेर लेख्नुहोस् ।
(Note: This is a listening and writing exercise and requires audio input from the teacher.)
५. 'हजुरआमाको जन्मोत्सव' मनोवाद पढी दिइएका प्रश्नको सङ्क्षिप्त उत्तर लेख्नुहोस् :
(क) विनोदकी हजुरआमाको स्वास्थ्य कस्तो छ ?
विनोदकी हजुरआमाको निधारमा चाउरी परेका रेखैरेखा देखिन्छ र गालासमेत भित्र पसिसकेका छन् । हिँड्दा लट्ठी टेकेर
हिँड्नुहुन्छ । कडा मिजास भए पनि दिनहुँ खेतबारीसम्म पुगेर आउनुहुन्छ । त्यस्तै कान प्रष्ट सुन्नुहुन्छ भने आँखा पनि
देख्नुहुन्छ । चस्मा लगाउनुपर्ने अवस्था छैन । तसर्थ उमेरअनुसार विनोदकी हजुरआमाको स्वास्थ्य राम्रो छ ।
(ख) विनोदले हजुरआमाबाट कुन कुन नाता थाहा पाएका थिए ?
विनोदले हजुरआमाबाट थुप्रै पारिवारिक नाता थाहा पाएका थिए । आमाको मुख हेर्ने दिन फुपू र फुपाजु नातासँग परिचित भए ।
दसैंमा आउनुभएका काकाकाकी, ठुलाबुबा, ठुलीआमासँग आउनुभएका दुई जनालाई हजुरआमाले नन्द र आमाजू भनी चिनाउनुभएको थियो ।
त्यस्तै हजुरआमाकै कारण विनोदले दिदी, भिनाजु, देवर, देवरानी, साढुभाइ र साली जस्ता नाता थाहा पाएका थिए ।
(ग) हजुरआमाले विनोदलाई कसरी चिनाउनुहुन्छ ?
आफन्त आएका वेलामा हजुरआमाले विनोदलाई बोलाउनु हुन्छ र आफूसँगै राख्नुहुन्छ । मेरो नाति यस्तो छ उस्तो छ भनेर
हजुरआमाले आफन्तलाई चिनाउनुहुन्छ । आफन्तसँगको नाताका बारेमा पनि हजुरआमाले विनोदलाई जानकारी दिनुहुन्छ । यसरी
हजुरआमाले विनोदलाई चिनाउनुहुन्छ ।
(घ) 'हजुरआमाको जन्मोत्सव' मनोवादको सन्देश के हो ?
'हजुरआमाको जन्मोत्सव' मनोवादमा घरकी हजुरआमाको ८४औं जन्मदिनका अवसरमा नाति विनोदको मनका उत्पन्न भएका खुलदुलीहरूलाई
प्रस्तुत गरिएको छ । मनोवादमा परिवारका जेष्ठ सदस्यले बालबालिकाहरूलाई पारिवारिक नातासम्बन्धका बारेमा जानकारी
गराउनुपर्छ भन्ने कुरा व्यक्त गरिएको छ । त्यस्तै मनोवादमा उपहार हृदयबाट समर्पण गरेर दिइन्छ । उपहार आफैँमा पूर्ण
हुन्छ । त्यसैले जन्मोत्सव वा अन्य कार्यक्रममा महँगा सामान नै उपहार दिनुपर्छ भन्ने धारणा गलत धारणा हो । हामीले
उपहारसम्बन्धी गलत धारणामा परिवर्तन ल्याउनुपर्छ भन्ने सन्देश मनोवादले दिएको छ ।
६. 'हजुरआमाको जन्मोत्सव' मनोवादको सार लेख्नुहोस् ।
साथीलाई भएको भए उपहार दिन सजिलो हुन्थ्यो तर हजुरआमालाई के उपहार दिने भनेर मनोवादको पात्र विनोदलाई छटपटी चलिरहेको
हुन्छ । उसले के दिने भनेर सम्झिन सकिरहेको हुँदैन । उसको घरमा पर्सि हजुरआमाको चौरासी पूजा रहेको छ । त्यसै दिन
हजुरआमाको चौसासिऔं जन्मोत्सव पनि मनाइँदै छ । त्यस दिन स्मरणीय उपहार दिएर आरोग्यको कामना गर्नुपर्छ भन्ने विनोदको
सोच रहेको छ ।
विनोदकी हजुरआमा परिवारको भविष्य निर्माता हुनुहुन्छ । ममतामयी काखको वात्सल्यमा विनोद हुर्केको हो । लट्ठी टेकर
हिँड्ने उहाँ कडा मिजासको हुनुहुन्छ । त्यस्तै उहाँ दिनहुँ खेतबारीमा पुगेर आउनुहुन्छ । कान अझैसम्म स्पष्टसँग
सुन्नुहुन्छ भने आँखा पनि देख्नुहुन्छ । हजुरआमालाई उक्त दिन सबै जना भेट्न आउने भएकाले पनि मैले उपहार जसरी पनि
दिनैपर्छ भनी विनोद सोच्दछ । त्यस दिन हजुरआमाले विनोदलाई सँगै राखेर सबै आफन्तलाई चिनाउनुहुन्छ, मेरो नाति यस्तो छ
उस्तो छ भनेर भन्नुहुन्छ । हजुरआमाबाट उसले धेरै नातासम्बन्धको बारेमा जानकारी हासिल गरेको छ । हजुरआमाकै कारण विनोदले
फुपाजु, दिदी, भिनाजु, देवर, देवरानी, साढुभाइ, साली, नन्द, आमाजू जस्ता नातासम्बन्धको बारेमा थाहा पाएको हो ।
विद्यालय जाने, आउने र खाजा खाने पैसा जोगाएर उसले केही रुपियाँ राखेको छ । हजुरआमाले पुरानो थैली खोलेर अगिपछि पनि
उसलाई नै पैसा दिने भएकाले केही आस गर्नुहुन्न । उपहार लिनु भएन वा केटाकेटीले किन ल्याउनुपयो भनी कराउनुभयो भने भन्ने
सोचेर विनोद फेरि पनि द्विविधामा पर्छ ।
साथीसँग मिलेर उपहार दिनुपर्ला भन्ने सोच्छ तर आफ्नो हजुरआमाको जन्मोत्सवमा साथीसँग मिलेर कुरा विनोदलाई उपयुक्त
लाग्दैन । अन्त्यमा केही समय अगाडि बनाएको हजुरआमाको पूर्णकदको तस्बिरमा फ्रेम हाल्ने र उक्त दिन फूलको माला गाँसेर
हजुरआमालाई लगाइदिएर तस्बिर हातमा राखिदिने निष्कर्षमा विनोद पुग्छ ।
७. भाव विस्तार गर्नुहोस् :
उपहार हृदयबाट समर्पण गरेर दिइन्छ ।
प्रस्तुत गद्यांश 'हजुरआमाको जन्मोत्सव' शीर्षकको मनोवादबाट साभार गरिएको हो । यस मनोवादलाई कक्षा ८ नेपाली
पाठ्यपुस्तक लेखक समूहबाट लेखन तथा सम्पादन गरिएको हो । यस भनाइले मनोवादको पात्र विनोदको उपहारप्रतिको धारणालाई
अभिव्यक्त गरेको छ ।
विनोदलाई हजुरआमाको चौरासी पूजा तथा जन्मोत्सवमा के उपहार दिउँ भन्ने खुलदुली चलेको हुन्छ । उसले हजुरआमालाई
जन्मोत्सवमा स्मरणीय उपहार दिएर आरोग्यको कामना गर्नुपर्छ भन्ने सोच्दछ । विनोद आफू सानो भएकाले उपहार दिनैपर्छ भन्ने
छैन, पछि कमाउने भएपछि दिउँला भन्ने कुरा समेत सोच्छ । ऊ पुनः केही उपहार दिएर सम्मान गर्नुपर्छ । उपहार भनेको हृदयबाट
समर्पण गरेर दिइने चिज हो । उपहार आफैँमा पूर्ण हुन्छ । केही उपहार दिएमा मात्र हजुरआमाले पनि नातिले दिएको भनेर
देखाउन पाउनुहुन्छ । उपहारका कारण उहाँ निकै हर्षविभोर बन्नुहुन्छ भनी विनोद सोच्दछ ।
यसप्रकार विनोदको उपहारसम्बन्धी खुलदुलीलाई माथिको मनोवादको अंशले निकै भावपूर्ण किसिमले अभिव्यक्त गरेको छ । यसका
साथै उपहार सम्मानका लागि हृदयबाट समर्पण गरी दिने चिज हो भन्ने सन्देश दिएको छ ।
८. 'जन्मोत्सवमा महँगा सामान नै उपहार दिनुपर्छ भन्ने धारणा गलत हो ।' भन्ने कुरा मनोवादका आधारमा पुष्टि गर्नुहोस् ।
'हजुरआमाको जन्मोत्सव' शीर्षकको मनोवाद कक्षा ८ नेपाली पाठ्यपुस्तक लेखक समूहबाट लेखन तथा सम्पादन गरिएको मनोवाद हो ।
यस मनोवादमा मनोवदको पात्र विनोदको हजुरआमालाई जन्मोत्सवमा दिइने उपहारप्रतिको खुलदुली र धारणालाई अभिव्यक्त गरिएको छ
। यसका साथै जन्मोत्सवमा महँगा सामान नै उपहार दिनुपर्छ भन्ने धारणा गलत हो भन्ने कुराको पुष्टि समेत गरिएको छ ।
हजुरआमालाई के उपहार दिने भनेर मनोवादको पात्र विनोदलाई छटपटी चलेको हुन्छ। उसले के दिने भनेर सम्झिन सकिरहेको हुँदैन
। उसको घरमा हजुरआमाको चौरासी पूजा हुन्छ । त्यसै दिन हजुरआमाको चौसासिऔं जन्मोत्सव पनि मनाइने कार्यक्रम हुन्छ । त्यस
दिन स्मरणीय उपहार दिएर आरोग्यको कामना गर्नुपर्छ भन्ने विनोदले सोचेको हुन्छ। उपहार भनेको हृदयबाट समर्पण गरेर दिइने
चिज हो । उपहार आफैँमा पूर्ण हुन्छ । केही उपहार दिएमा मात्र हजुरआमाले पनि नातिले दिएको भनेर देखाउन पाउनुहुन्छ ।
उपहारका कारण उहाँ निकै हर्षविभोर बन्नुहुन्छ भनी विनोद सोच्दछ । हजुरआमाको चौरासी पूजा तथा जन्मोत्सवमा के उपहार दिउँ
भन्ने खुलदुली आफैँले बनाएको हजुरआमाको पूर्णकदको तस्बिरमा फ्रेम हालेर दिने र फूलबारीको फूलको माला उनेर लगाईदिने
भन्ने निष्कर्षमा गएर मनोवाद समाप्त भएको छ ।
यसका माध्यमबाट मनोवादमा उपहार महँगा सामान नै हुनुपर्छ भन्ने छैन । यो सम्मान स्वरूप हृदयबाट दिइने भएकाले ममताले
भरिएको हुनुपर्छ, महँगीले होइन भन्ने कुराको पुष्टि गरिएको छ । यसका साथै सम्मान नभएको महँगो सामानभन्दा सम्मान भएको र
हृदयबाट दिइएको सानो चिज बढी महत्त्वपूर्ण हुन्छ भन्ने सन्देश पनि मनोवादले दिएको छ ।
९. मानौँ, साथीकी दिदीको विवाह हुँदै छ । तपाईं उक्त विवाहमा जान सक्नुभएन । तपाईं नगएका कारण साथीले खल्लो महसुस गरे
। यस्तो अवस्थामा साथीलाई कसरी सम्झाउनुहुन्छ ? लेखेर प्रस्तुत गर्नुहोस् ।
साथीकी दिदीको विवाहमा म जान सकिनँ । म नगएका कारण साथीले खल्लो महसुस गरे । यस्तो अवस्थामा साथीलाई यसरी सम्झाउँछु :-
साथीहरू, तपाईंहरूसँगै साथीकी दिदीको विवाहमा आउन सकिन । यो रमाइलो अवसरलाई मैले गुमाएँ । मेरो कारण तपाईंहरूले पनि
खल्लो महसुस गर्नुपर्यो । यसका लागि म निकै दुःखी छु । म सबै साथीसँग क्षमा माग्दछु । मैले चाहँदाचाहँदै पनि घरायसी
कारणले गर्दा उक्त समारोहमा सहभागी हुन पाइन । यो कुरालाई मेरा प्यारा साथीहरूले बुझिदिनुहुन्छ भन्ने अपेक्षा गरेको छु
।
१०. मनोवादको 'एक पटक दसैँमा उहाँसँगै बस्छु ।' अंश पढी मुख्य मुख्य विषयवस्तु टिपोट गर्नुहोस् ।
मनोवादको ‘एक पटक दसैँमा ... उहाँसँगै बस्छु ।' अंशका मुख्य मुख्य विषयवस्तु टिपोट :-
(क) एक पटक दसैंमा काकाकाकी, ठुलाबुबा, ठुलीआमासँगै आउँदा हजुरआमाले नन्द र आमाजू भनी चिनाउनु
(ख) हजुरआमाले पटक पटक नातासम्बन्धका बारेमा बुझाउनु
(ग) हजुरआमाकै कारण विभिन्न नातासम्बन्धका बारेमा बुझ्नु
(घ) मलाई छेउमा राखी पूजामा आउने पाहुनालाई नचिनाएसम्म हजुरआमाको चित्त नबुझ्नु ।
११. दिइएको अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
(क) मनोवादको अर्को नाम के हो ?
मनोवादको अर्को नाम एकालाप हो ।
(ख) मनोवादमा पात्रका विचार कसरी आउँछन् ?
मनोवादमा पात्रका विचार विशृङ्खलित रूपमा आउँछन् ।
(ग) मनोवादमा कस्ता पक्षलाई समेट्नुपर्छ ?
मनोवादमा अनुभूति, सम्झना, विचार, प्रतिक्रिया आदि पक्षलाई समेट्नुपर्छ ।
(घ) मनोवादभित्र कुन अवस्थामा अपूर्ण वाक्य वा कोष्ठकको प्रयोग गर्न सकिन्छ ?
मनोवादभित्र एक्कासी सोच परिवर्तन गर्नुपर्दा अपूर्ण वाक्य वा कोष्ठकको प्रयोग गर्न सकिन्छ ।
📩 Subscribe to Educated Nepal
Get the latest Class 8 , 9 , 10 , 11 & 12 notes, past questions, and study guides directly to your smartphone.